काठमाडौं, २ पुस । नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोरलाई नियुक्त गरेको छ ।

खुला प्रतिस्पर्धाबाट वाटमोरलाई नेपालको सिनियर क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको क्यानले जनाएको छ । वाटमोरलाई एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ।

नेपाल गएको फेब्रुअरीदेखि मुख्य प्रशिक्षकविहीन बनेको थियो । वाटमोरले अस्ट्रेलियाबाट सात टेस्ट, एक एकदिवसीय, लिस्ट एका २६, फस्ट क्लासका एक सय आठ म्याच खेलेका छन् । ​वाटमोरले सन् १९९६ मा श्रीलङ्कालाई विश्व कप जिताएका थिए ।

यसअघि नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा जगत टमटाले मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

कोरोना महामारीका कारण रोकिएको क्रिकेट गतिविधि मंसिर १० गतेबाट सुरू भयो । क्यानले राष्ट्रिय टिमको क्लोज क्याम्प सुरू गर्दा पनि टमाटाले नै खेलाडीहरूलाई प्रशिक्षण दिए ।

तर विश्वकप लिग २ सिरिज अगाडि वाटमोरले जिम्मेवारी सम्हाल्ने भएका छन्, जोसँग चार टेष्ट राष्ट्रको प्रशिक्षक भइसकेको अनुभव छ । सन् १९९६ मा श्रीलंकाला विश्वकप जिताउँदा वाटमोर नै प्रशिक्षक थिए । उनले आईपीएलमा कोलकता नाइट राइडर्सको प्रशिक्षकको रुपमा समेत काम गरिसकेका छन् ।

पछिल्लो पटक उनी सिंगापुरका प्रशिक्षक थिए । उनकै प्रशिक्षणमा सिंगापुर टी २० विश्वकपको ग्लोबल क्वालिफायरमा समेत पुगेको थियो ।

उनै अनुभवी वाटमोर प्रशिक्षक नियुक्त हुँदा नेपाली क्रिकेट जगत उत्साहित बनेको छ । क्यानले वाटमोरलाई एक वर्षका लागि अनुबन्ध गरेको हो र सम्झौता नवीकरण गर्ने विकल्प समेत रहेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले बताए । यस्तै आर्थिक विषयमा भने अहिले अन्तिम निर्णय हुन बाँकी रहेको उनले बताए ।

२०२१ जनवरीदेखि वाटमोरको सम्झौता लागू हुन्छ । तर क्रिसमस न्यू इयर जस्ता पर्व रहेकाले वाटमोर जनवरी पहिलो साताको अन्तिसम्म नेपाल आइसक्ने सचिव प्याकुरेलले जानकारी दिए । प्याकुरेलले वाटमोरको नियुक्त समग्र नेपाली क्रिकेटको लागि नै उत्साहको विषय भएको बताए ।

श्रीलंकामा जन्मेर हाल अष्ट्रेलियामा बसोबास गर्दै आएका वाटमोरले सन् २०१७ मा ब्याट एण्ड बल फाउण्डेसनमा निमन्त्रणामा केही समय नेपालमा आएर काम समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *