काठमाडौं, माघ २२ । राज्य संचालनको लागि आवश्यक सबै प्रकारका नीतिहरुमा राजनीति सर्वोच्च नीति हो। वास्तवमा सबै प्रकारका नीतिहरुको उदगम नै राजनीति हो। मूलुकको सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनैतिक विकासका लागि समेत अपरिहार्य नीतिहरुको प्रादुर्भाव, कार्यान्वयन, संभार, सञ्चालन, परिमार्जन राजनीतिबाट नै हुन्छ। देशको शासन व्यवस्थालाई सुव्यवस्थीतरूपमा संचालन गर्नकालागी राजनीतिक पक्ष राज्यको महत्वपुर्ण अंग हो । खासगरी व्यवस्थापिका, कार्यपालिकाको संरचना र नेतृत्व राजनैतिक पक्षको प्रतिनिधित्व हुन्छ । राज्य संचालनको नियम, कानुन बनाउने देखि त्यसको सफल कार्यान्वयन गराउन राजनैतिक नेतृत्वको महत्वपूर्ण भुमिका हुन्छ । देशको कर्मचारीतन्त्रलाई चुस्त, दुरुस्त राख्न, शुसासन कायम गर्न समेत सक्षम राजनैतिक नेतृत्व दिने नेताहरूको जरुरत पर्दछ । त्यसैले राजनीती वास्तवमा समाज र राष्ट्रलाई सही मार्गमा हिडाउने वा डोराउने साधन हो भन्न सकिन्छ । देशको विकास र सम्पन्नता त्यो देशमा विद्यमान राजनैतिक प्रणाली र राजनीतिक गतिविधिमा निर्भर गर्दछ । राजनीतिनै देश निर्माण गर्ने महत्वपुर्ण साधन हो ।

समाजमा रहेका तमाम वर्गहरूको जीवन निर्वाहलाई सहज बनाउन राज्य संयन्त्र चुस्त, जनउत्तरदायी, क्रियासिल, जनमुखी, विकाशप्रेमी, विकेन्द्रिकृत, लोकतान्त्रिक, पारदर्शी, भष्ट्राचारमुक्त, सेवामुखी हुनु आवश्यक छ । अहिले देखिएको राजनीतिक माहोलले गर्दा आमजनता निरास देखिएका छन् ।

शासन, शासक र राजनीति प्रतिको जनताको बिश्वास निरन्तर ओरालो लाग्दो छ । आर्थिक परिसुचांकहरु प्रायः नकारात्मक उन्मुख छन् । संगठित अपराधका बहुरुपी आयामहरु नियन्त्रण बाहिर जादैछन् । हत्या,हिंसा र बलात्कार जस्ता सामाजिक अपराधले समाज ग्रस्त छ । राज्य काबु वा नियन्त्रण भन्दा बाहिर जान लागेको अवस्था देखा पर्दैछ । दण्डहीनता मौलाउँदै गैईरहेको छ । नेपालको ईतिहासलाई एकपटक फर्केर हेर्ने हो भने परिवर्तन धेरै पटक भएको पाउन सकिन्छ तापनि जनताको जीवनस्तर, सामाजिक सांस्कृतिक परिवर्तनहरू खासै उल्लेखनियरूपमा हुनसकेको हामी देख्न सकिरहेका छैनौँ । मुलतः जे जति राजनीतिक परिवर्तनहरू भयो त्यस पश्चात परिवर्तनको लागि नेतृत्वदायी भूमिका खेलेका राजनैतिक दल र नेताहरू इमान्दार एवं जनउत्तरदायी भएर जनताको विकास, निर्माणको काममा समर्पित हुनुभन्दा बढी कसरी व्यक्तिगतरूपमा आफ्नो आय आर्जनमा वृद्धी हुन्छ, कसरी आफ्ना सन्तती, परिवार, नातागोता, भाईभतिजाहरूको व्यक्तीगत जीवनलाई आर्थिकरूपले माथी उठाउन सकिन्छ त्यसतर्फ नै बढी ध्यान केन्द्रित गरेको प्रष्ट देख्न सकिन्छ । संसद लगायत स्थानिय तहमा निर्वाचन हुँदा प्रशस्त मात्रामा निर्वाचनको प्रचार प्रसारमा गरिने खर्चले समेत पछि निर्वाचन जितेर पदमा आसिन भईसकेपछि पहिला चुनाव लड्ने समयमा गरिएको खर्च उठाउन समेत पदिय दुरूपयोग गर्ने प्रमुख कारक तत्व बन्न गएको देखिन्छ । यस्तो गतिविधिलाई रोक्नको लागी चुनावमा प्रतिस्पर्धा गर्दा गरिने खर्चको सिमा जुन तोकिएको हुन्छ यसलाई निर्वाचन आयोग लगायतका निकायहरूले कडाईका साथ नियन्त्रण र नियमन गर्नु पर्ने हुन्छ ।

मुलुक यतिबेला संघीयता र पुनर्जागरणको युगमा छ। यो युगको शासन सत्ता चलाउने चाबी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को हातमा छ। प्रायः सत्ताको मियोमा रहँदै आएको कांग्रेस प्रतिपक्षको भूमिकामा छ। तर केहि दिन यता नेकपा भित्रबाटै कलह श्रृजना भै देशको शासनमा अप्ठेरो परेको महसुस गरिदैछ । जनता अलमल्लमा परेको पार्इन्छ । आजसम्म खेलेको राजनीतिक भूमिकालाई पनि नेपाली जनताले नजिकबाट नियालिरहेका छन्। आर्थिक समृद्धि र विकास केवल नारामा मात्र जाने भयो भन्ने चिन्ता थोपरिएका छन्। कोरोनाबाट थला परेको नेपाली अर्थतन्त्र माथि उठ्ने आशमा रहेको समयमा नेकपा भित्रको आपसी कलहले गर्दा अर्थतन्त्र सिकिस्त थला पर्ने देखिएको छ । फोहोरी खेलको राजनीतिले गर्दा विगतमा मातृ, पितृ, गुरु, ऋषि-ऋणसमेत तिर्नुपर्छ भन्ने मान्यतालाई जीवित राखेको हाम्रो समाज आज आफैँले खाएको ऋणसमेत नतिर्ने अवस्थामा पुगेको छ ।

भूमाफियाको चङ्गुलमा खेतीयोग्य जमिन परेको छ भने सरकारको उपस्थिति दयनीय बन्दै छ । कर्मचारी, राजनीति र भूमाफियाको मिलेमतोमा निर्माण गरिएका नीतिको कारण खेती गर्नुभन्दा किनेर खान सस्तो पर्दैछ । विश्व राजनीतिमा उपादेयता गुमाइसकेका एजेन्डाहरूलाई नयाँ रङरोगनसहित नेपाली समाजमा मिसाउन हतारिएका शक्तिहरूको कारण मुलुक विचित्रको दलदलमा फसिसकेको छ । धर्म, जाति, भाषा, क्षेत्र, लिङ्ग, अभाव, कुरीति, गरिबीजस्ता विषयमा रणनीतिक ढङ्गले समाजलाई विद्रोही बनाउने, अधिकार प्राप्तिको नाममा अनिष्ट निम्त्याइँदै आफ्नो स्थान सुरक्षित गर्ने विदेशी रोगहरू मुलुकमा जरा गाड्न सफल भएका छन् । सिद्धान्त र नैतिकता नै सबैभन्दा ठूलो मान्नेहरू समेत मौका मिल्दा झुट बोल्ने राजनीतिमा हाम्रोजस्तो लोकतन्त्रको झुट, धोका, षड्यन्त्र हुनु आफैँमा जायज नै मान्नुपर्ला । धोका, हिंसा र छलकपटको जगमा जन्माइएको हाम्रो लोकतन्त्रमा राजनीतिबाट नेपाली जनता अब के र कसका लागि राजनीतिको वकालत गर्ने भन्नेमा दोधारमा परेका छन् । तैपनि लोकतन्त्रको विकल्प लोकतन्त्र भन्ने सिध्दान्तले काउकुती लगार्इ रहेको छ ।

प्राथमिक तहका विद्धार्थी देखि राजनीति, शिक्षकमा राजनीति, कर्मचारीमा राजनीति, ब्यापारमा राजनीति, उद्धोग कलकारखानामा राजनीति, वन जंगलमा राजनीति, सूचना सञ्चारमा राजनीति, वाल बृद्धमा राजनीति सवैमा खुला राजनीति भएको सवैलार्इ थाहा छ । यति सम्मकि शिष्यले गुरूलार्इ विना गल्ती गाली गर्ने, मनपरी भन्ने छुट पनि यहि राजनीतिले गर्दा भएको छ। देशको प्रधानमन्त्री, राष्ट्रपति, पार्टीको नेतृत्व गर्नेलार्इ साना तिना सवैले गाली घृणा गर्ने छुट पनि यहि राजनीतिले दिएको छ । सामाजिक मूल्य मान्यता, संस्कार, आदर, सम्मान र नैतिकता भन्ने विषय अव इतिहासका पानामा अध्ययन गर्न मात्र सीमित राख्नु पर्ने हो कि भन्ने चिन्ता लाग्न थालेको छ । गाँउघरमा एउटा पार्टीका ब्यक्ति र फरक पार्टीका ब्यक्तिबीच कुनै समय बोलीचाली नै बन्द जस्तै पानी बाराबार थियो । आन्दोलन केवल लोकतन्त्रका लागि नभएर नेताका स्वार्थका लागि रहेछ भन्ने कुरा जनता बुझ्न थालेका छन्  । यसरी नेपालको कहिले विकास भएर आर्थिक समृद्धि हासिल होला भन्ने सवैलार्इ चिन्ता थपिदै गएको छ । समाज र राजनीतिमाथि आलोचना अब बौद्धिक मानिसको कब्जामा नरहेको पछिल्लो उदाहरण हामीसँग उपलब्ध छ ।

हामीले क्याम्पस अध्ययन गर्दा डार्विनको विकासवादी सिद्धान्तमा भनिएको थियो प्रत्येक सजीवमा अत्याधिक सन्तानोत्पादन गर्ने क्षमता भएको हुँदा सजीवहरूका सङ्ख्या अत्याधिक बढेर जान्छन्। यसबाट खान र बस्नको अभाव सृजना हुने हुदा सजीवहरू बाँच्नको लागि खान, बस्न, प्रजनन गर्न, रोग र वातावरणसँग निरन्तर संघर्ष गरिरहनु पर्दछ। संघर्ष गर्न सफल जीवहरू अर्को पुस्तामा जान सक्षम हुन्छन् भने संघर्ष गर्न नसक्ने लोप भएर जान्छन्। यो डार्बिनको बाँच्नको लागि संघर्ष सिद्धान्त हो। संघर्षको क्रममा सजीव कति बाँच्ने भन्ने कुरा प्रकृतिले छनौट गर्दछ। बाँच्नको लागि आवश्यक गुणहरू विकास हुँदै जादा धेरै समयको अन्तरालमा सजीवमा नयाँ गुण देखा पर्दछन्। बढी उन्नतशील जीवको छनोट र कम उन्नतशील जीवको विनाश हुन्छ। यस प्रवृत्तिलाई प्राकृतिक छनोट भनिन्छ। संघर्षमा विजयी बाँच्न सफल हुन्छन्। बाँच्न सफल सजीवका गुणहरू निरन्तर सन्ततिहरूमा सर्दै जाँदा धेरै वंशपछि पुर्खाहरू भन्दा फरक गुण भएका सन्तानको उत्पत्ति हुन्छ। यिनै सन्ततिहरूलाई नयाँ जातिको उत्पत्ति मानिन्छ। डार्विनका वैज्ञानिक सिद्धान्तहरु मानव समुदाय सामु कसरी लागु हुन्छन् भन्ने जीज्ञासाले धेरैलाई कौतुहल बनाइराखेको थियो होला। अहिलेको नेपाली राजनीतिमा पनि यस्तै अवस्था नआउला भन्न सकिदैन ।

नेपाली परिवेशमा समृद्धता सम्भव नभएको पनि होइन। यसका लागि असल शासकको आवश्यकता छदैछ। साथै जनता जर्नादन पनि निरन्तर कर्मठ हुनुपर्दछ । कर्म, समृद्धि र अस्तित्व परिपुरक छन्। समृद्धि र अस्तित्व गफले होइनन् अनवरत रुपमा गरिने सृजनात्मक कर्मले प्राप्त गर्न सकिने उपलब्धि हुन्। हालको अवस्थामा नेपाल राष्ट्र नयाँ संघीय युगमा प्रवेश गरिसकेको छ। अवको समयमा कर्मठ नेपालीहरू दलीयकरणको धापबाट उम्कीई कर्ममा सर्मपित हुनुपर्ने नै सवैभन्दा ठूलो राष्ट्रिय आवश्यकता छ। राजनीति दलमा शैक्षिक ज्ञान र निश्चित उमेर समूहका ब्यक्तित्वबाट शासन सञ्चालन गर्ने र पूराना जेष्ठ नेताहरू सल्लाहकारको भूमिका निर्वाह गर्नु पर्ने अवस्थाको श्रृजना हुन सक्छ । नेपाली जनता जहिलेसुकै आन्दोलनमा जानुपर्ने र आर्थिक चपेटामा पिल्सिनु पर्ने दिन नआयोस भन्ने कामना गर्दछु । नेपाल र नेपालीको मान प्रतिष्ठा बढाउन हामी सवैले समयमा सोचेर एकजुट भै अगाडी बढ्नु जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *