काठमाडौँ, २३ चैत्र । स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले कोरोना संक्रमण उच्च हुने बताउनुभएको छ। आज प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिनेक्रममा स्वास्थ्य मन्त्री त्रिपाठीले पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएको भन्दै जनस्वास्थ्यका मापदण्ड प्रभावकारी बनाउन नसके आगामी जेठ-असारमा कोरोना संक्रमण उच्च विन्दुमा पुग्ने बताउनुभएको हो ।
छिमेकी मुलुक भारतमा पछिल्लो समय कोरोना संक्रमण तीब्र भएको बताउँदै कोरोना नियन्त्रणका लागि आवागमनलाई थप प्रभावकारी बनाउनुका साथै शंकास्पद व्यक्तिलाई अनिवार्य क्वारेन्टिनमा राख्नुपर्ने उहाँले बताउनुभयो ।
नेपालमा आज २६६ जना कोरोना संक्रमित थपिएसँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार २१० पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार आज १०२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७३ हजार ३४२ पुगेको छ। हाल देशभर १ हजार ८ सय ३२ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३६ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *