काठमाडौँ, २४ चैत्र । भक्तपुर जिल्लाका नेवार समुदायले भव्यरूपमा मनाउने ऐतिहासिक एवं सांस्कृतिक पर्व बिस्केट जात्रा मनाउन जिल्ला प्रशासन कार्यालय भक्तपुरले रोक लगाएको छ ।कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको भन्दै जिल्लास्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (डिसिसिएमसी)ले जात्रा सञ्चालनमा रोक लगााएको हो ।
केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, गुठी संस्थान, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखहरु भई बरेको बैठकले कोरोना भाइरस सङ्क्रमण फैलिनसक्ने जोखिम बढेको भन्दै जात्रालाई औपचारिकता एवं पूजामा मात्रै सीमित गर्ने निणर्य गरेको बताइएको छ । बैठकको निणर्य अनुसार भक्तपुरमा मनाइने बिस्केट जात्रा, भैरव, भद्रकालीको रथ तान्ने, लिङ्गो उठाउने, मध्यपुरथिमिको बोडेमा मनाइने जिब्रो छेड्ने, बालकुमारी तथा नगदेशमा मनाइने सिन्दुर जात्रा लगायतका जात्रालाई औपचारिकता एवं पूजामा मात्रै सीमित गरिएको छ। गत वर्ष पनि लकडाउनका कारण जात्रालाई औपचारिकतामा मात्रै सीमित गरिएको थियो ।
यता बिस्केट जात्रामा रोक लगाएको भन्दै भक्तपुर तथा मध्यपुरथिमिका बासिन्दाले विरोध गरेका छन् । भक्तपुर र थिमिका बासिन्दाले हिजो साँझ भैरवको रथ निर्माण भइरहेको तौमढीमा सयौँको सङ्ख्यामा भेला भई धिमेबाजा बजाएर प्रशासनको निणर्यको विरोधमा प्रदर्शन गरेका छन् । विरोधमा उत्रिएर प्रदर्शन गरेका स्थानीयवासीले भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा र जिब्रो छेड्ने रोक्ने निणर्य नमान्ने र जात्रा सञ्चालन गर्न पाउनुपर्ने माग राखेका छन् । विगतमा प्रशासनले स्थानीय तह र जात्रा सञ्चालन गर्ने सरोकारवाला निकायसँग बसेर छलफल गर्दै जात्रा सञ्चालनको निणर्य लिने गर्दै आए पनि अहिले भने प्रशासनले कसैसँग समन्वय र छलफल नै नगरी जात्रा पर्व सञ्चालनमा रोक लगाएको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् ।
