काठमाडौँ, २१ वैशाख । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको अन्तिम संस्कारका लागि वैकल्पिक व्यवस्था गरिएको छ । हिजोदेखि बागमती किनारमा अस्थायी चिता बनाएर कोरोनाका कारण मर्नेहरुको शव जलाउन थालिएको पशुपति क्षेत्र विकास कोषले जनाएको हो ।
विद्युतीय शव दाह गृहले थेग्न नसकेका कारण उक्त किसिमको वैकल्पिक व्यवस्था गरिएको कोषका सदस्य सचिव प्रदीप ढकालले बताउनुभएको छ । एक मेसिनले दैनिक एउटालाई औषतमा एक घण्टा गरी अधिकतम १२ वटा शव जलाउन सक्ने भएपनि एउटा शव जलाएपछि मेसिनलाई केही समय आराम दिनु पर्ने भएकाले तीनवटै मेसिन एकसाथ नचलाइने उहाँले बताउनुभयो । पछिल्लो केही दिनयता कोभिड-१९ का कारण मृत्यु भएकाहरुको शव आउने क्रम निकै बढेका कारण भार थेग्नका लागि नजिकै बागमती किनारमा अस्थायी चिताको व्यवस्था गरेको उहाँले बताउनुभयो ।
विद्युतीय र बागमती किनारमा अस्थायी चितामा गरी दैनिक १०० वटा शवसम्म जलाउन सक्ने अवस्थामा आफूहरु रहेको तर जोखिम बढ्दै जाँदा थपिन सक्ने मृत्युका लागि भने आवश्यकता अनुसार अस्थायी चिताहरु थपिँदै जाने कोषको भनाई रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *