बडादशैं नेपालीहरूको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाड समेत मानिने यस पर्वलार्इ नवरात्र पनि भनिन्छ । हिन्दू धर्मावलम्बी हरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी दशौँ दिन विहान दशमीका दिन आफू भन्दा ठुला  मान्यजनहरूको हातबाट टीका-प्रसाद ग्रहण गरेर विशेष रूपमा पुर्णिमासम्म मनाउने गर्छन् । दशैं नेपालीहरूको सबैभन्दा विशेष पर्व मानिन्छ । बडा दशैं आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म पनि मानिने विशेष पर्व वा उत्सव हो।दशैंलाई बडा दशैं, दशहरा, विजया दशमी, आयुध-पूजा आदि नामले जानिन्छ । यो खासगरी आश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्मका फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी लगातार चार दिनको महापर्व हो । यो नेपालीहरूको सबैभन्दा ठूलो राष्ट्रिय चाड हो।त्यसमा पनि विजयादशमी मुख्य दिन हो । बडादसैँको पर्वमा  मालसिरी वा मालश्री धुन बजाएर र गीत गाएर रमाइलो पनि गरिन्छ।देश बिदेश वा टाढा टाढा भएका आफ्ना साथीभाई, आफन्तजनसँग भेटघाट हुने वातावरण यसै समयमा सिर्जना हुन्छ । पर्वले यस्तो सुनौलो अवसर जुटाइदिन्छ।त्यसको बेग्लै मज्जा छ । दशैमा दक्षिणा, टिका, जमरा र पिङको मज्जालाई छुट्टै खास अर्थ र महत्वका रुपमा लिइन्छ ।

बास्तवमा दश दिन मनाइने हुनाले पनि यो हिन्दुहरुको महान पर्वलाई दशैं भनेको हुनुपर्छ।  दशैंमा नवदुर्गा हिन्दु धर्म की शक्तिस्वरुपा देवी दुर्गाको नौ वटा रूप शैलपुत्री, व्रह्मचारणी, चन्द्रघन्टा, कुशमन्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिधात्री विशेष पुजा तथा आराधाना गरिन्छ । नवदुर्गा भवानीका यी नव रूपको आश्विन शुक्लपक्ष प्रतिप्रदाकाका दिनदेखी महानवमीका दिनसम्म क्रमशः एक एक दिन गरी नौ दिनसम्म पुजा गर्ने गरिन्छ । दशौँ दिन विजयादशमीमा भगवतिले दानवी शक्तिमाथी र रामले रावणमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप मान्यजनबाट रातो टिका र जमरा लगाएर र आशिर्वाद थापेर मनाइन्छ । टाढा टाढा देखि आउने पाउनाहरूले पूर्णिमा सम्मै पनि टीका लगाएर आश्रीवाद लिने दिने गरिन्छ।

नेपाली हिन्दु पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म दश दिन पूजापाठ, व्रत र उत्सवका साथ मनाइने चाड भएको हुनाले यसलाई दशैं वा ‘विजया दशमी’ का नामले पनि चिनिन्छ। हिन्दु चन्द्र मासिक पञ्चाङ्ग गणनाको तिथि अनुसार पर्ने भएकाले नेपाली चाडहरू निश्चित गते र तारिखमा नपर्ने हुनाले दशैं पनि अङ्ग्रेजी वा ग्रेगरियन क्यालेन्डर अनुसार सेप्टेम्बर महिनाको अन्त्य देखि अक्टोबर महिनाको मध्य बिचमा पर्छ । दशैं आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ र यो पहिलो दिनलाई घटस्थापना भनिन्छ ।

दशै प्रतिपदा घटस्थापना देखि कोजाग्रत पूर्णिमासम्म पन्ध्र दिनको हुने भएता पनि पहिलो नौ  दिनलाई नवरात्रि र दसौँ दिनलाई दसैँ भनिन्छ | यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान् श्री रामचन्द्रले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको भन्ने किंवदन्ती छ । प्रतिपदा वा घटस्थापना, सप्तमी वा फूलपातीमहाअष्टमी, वा कालरात्रीमहानवमी,विजया दशमी,र पूर्णिमा वा कोजाग्रत दशैंका प्रमुख तिथिहरू हुन् । आश्विन शुक्ल प्रतिपदा अर्थात घटस्थापनामा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा गरिन्छ । प्रतिपदा देखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणीचन्द्रघन्टाकुष्माण्डा,स्कन्दमाताकात्यायनीकालरात्री, महागौरीसिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती चण्डी पाठ गरी नवदुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा र आराधाना गरिन्छ ।

विजया दशमीको दिन भगवतीले दानवी शक्ति माथी र रामले रावणमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन छ । आश्विन महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो । भगवान् रामले यसै दिन रावणको वध गरेका थिए । यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिईन्छ । यसरी धार्मिक रूपमा दशमीलाई विजया दशमी भनिएको हो । वरपरका मानिसलाई समेत सजिलो होस् भन्ने हेतुले मान्यजनबाट टिका ग्रहण गर्ने कार्य पूर्णिमासम्म गर्ने प्रचलनमा रहेको छ । आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाना खाने-ख्वाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्गर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ । यसो गरेमा वर्ष भरिनै सुख प्राप्ति हुने, दैविक शक्ति प्राप्त भै कार्य सफलता मिल्ने शास्त्रमा उल्लेख गरिएको पार्इन्छ ।

वर्षका तीन अत्यन्त शुभ तिथिहरूमा आश्विन महिनाको शुक्ल पक्षको प्रतिपदा तिथि जसलार्इ घटस्थापना भनिन्छ, चैत्र शुक्ल पक्षको प्रतिपदा र कार्तिक शुक्लको प्रतिपदा तिथि पर्दछन् । यी दिनहरूमा हिन्दुहरू नयाँ कार्य सुरु गर्दछन्, शास्त्रको पूजा गर्दछन्। प्राचीन कालमा राजाहरू यस दिन विजयको प्रार्थना गरेर रण-यात्राको लागि प्रस्थान गर्दथे। यस दिन ठाउँ-ठाउँमा मेलाहरू लाग्थे। अहिले पनि भारतमा रामलीलाको आयोजन हुन्छ । रावणको विशाल पुतला बनाएर जलाईन्छ। विजयादशमी भगवान् रामको विजयको रूपमा मनाइयोस् अथवा दुर्गा पूजाको रूपमा, दुवैमा रूपमा यो शक्तिपूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो। हर्ष एवं उल्लास तथा विजयको पर्व हो। हिन्दु संस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो। व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्ययले दसैँको उत्सव सुरु भएको हो। दसैँ पर्वले दश प्रकारका पापहरू- काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहङ्कार, आलस्य, हिंसा र चोरी त्याग्ने प्रेरणा दिन्छ।

महासप्तमी नवरात्रिको सातौं दिन फूलपाती हो। नवरात्रको सप्तमीका दिन बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका पल्लवहरू घर  घरमा भित्र्याइन्छ । वर्षा ऋतु सिद्धिएर शरद ऋतु को स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्र्याउँदा घरभित्र रहने रोग वृद्धिकारक जीवांश -भाइरस, ब्याक्टेरिया) र विभिन्न प्रकारका नकारात्मक कीटाणु र जीवाणुहरू औषधीय पालुवाको प्रभावले घरमा रहदैनन् भन्ने धार्मिक तथा साँस्कृतिक मान्यता रहिआएको छ।यस दिन सदर टुँडिखेलमा फूलापाती बढाइँ भएपछि फूलपातीस्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ। यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ। किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन्।

महाष्टमी नवरात्रिको आठौँ दिनमा महाकाली -भद्रकाली)को विशेष पूजा-आजा गरिन्छ। देवीभागवत् अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली (करोडौं योनी-शक्ति)का साथ अष्टमीका दिन उत्पन्न भएको पूजा गर्ने चलन छ। पूजापश्चात् यी देवीलाई बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ। 

महानवमी नवरात्रिको नवौ दिन विशेष गरी सिद्धिद्धात्रि देवीको पूजा-आजा गरिन्छ। यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ। यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ। बलिको अर्थ त्याग, बलि दिनु अर्थात् त्यागिदिनु । काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष, छल, कपट, यी दस प्रकारका विकारहरू छन् । विकारबाट ग्रस्त मानिस कामवासनाले युक्त, क्रोधी, लोभी, मोहग्रस्त, मद र मात्सर्यले चुर भएको हुन्छ । नवदुर्गाका प्रसादले यी अवगुणहरू हटून्, सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भाव दसैँको हो । कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मद, मात्सर्यको प्रतीक कुखुरो र हाँसलाई मानिन्छ । यी प्रतिनिधि पात्रहरूको प्रवृत्तिस्वरूप मानवमा कामुकता, क्रोधीपन, लोभीपन, मोह र अहङ्कारी दुर्भावना उत्पन्न हुन्छ । त्यस्ता दुर्भावनाहरूलाई नवदुर्गाको मन्दिरमा लगेर चढाउँ अर्थात् त्यागौं भन्ने शास्त्रीय मान्यता हो । तर मानिसले ती प्रतिनिधि पात्रलाई नै बलिका रूपमा चढाउन थाले । त्यस्तै देशका विभिन्न दुर्गा भगवती मन्दिरहरूमा बोका तथा रांगा बलि चढाउने प्रचलन रहेको छ ।

 

विजया दशमी नवरात्रिको दशौ दिनलाई विजया दशमी पनि भनिन्छ | सोह्र सामग्रीले भगवती दुर्गा र अरू देवीहरू तथा देवताको पूजा गरी, नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजिता देवी, दाहिनेतिर जया देवी, देब्रेतिर विजया देवीको आवाहनं र सोह्र सामग्रीले पूजा गरी यथा शक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवती दुर्गा, अन्य देवदेवीहरूलाई चढाई आरती र पुष्पाञ्जलि गरिन्छ। यति गर्नाले कसैले पनि आफू माथि दमन (विजय) गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ। त्यसपछि मन्त्र पढ्दै चन्दन, अक्षता, फूल छर्कँदै माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवतालाई विसर्जन गरी उठाएर अन्यत्र राख्नुपर्दछः ‘आवाहनं नजानामि नजानामि विर्जसनम्। पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी। यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ। अनि घरका मुलमान्छेले भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद दिन्छन्। अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दशैंको लागि तयार पारी राखिएको नयाँ लुगा लगाई टीका लगाउन जान्छन्। टीका लाउँदा दिने

आशिषः-“आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे । ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्‍योधने । दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते। विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ॥ जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।।”

अर्थात द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् रामको जस्तो शत्रु नाश हुन्, नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानको जस्तो गतिशीलता, दुर्योधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति तपाईँलाई प्राप्त होस् भनी मान्यजनबाट आशीर्वचन लिइन्छ ।

मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाइन्छ । मजिठोको रातो रङमा गाईको दूधको दहीले रंगाएको रातो, सेतो अक्षताको टीका लगाउनुपर्छ । रातो र सेतो शान्ति र समृद्धिको प्रतीक हो । टीकाले मन, मस्तिष्क, विचारलाई शुद्ध चेतनायुक्त बनाउँछ। आफ्नो घरमा टीका लगाउन आउनेको क्रम पनि उत्तिकै रहन्छ। अन्त्यमा यो टीका लगाउने काम पूर्णिमासम्म जारी रहन्छ र पूर्णिमादेखि एक पक्षको (पन्ध्र) दशैं चाडको अन्त्य हुन्छ । यसै बखत वर्षा पुग्यो भनी इन्द्रलाई समाचार दिने पौराणिक कथनको अवलम्बन गरी वर्षा थाम्न चङ्गा उडाउने कार्य पनि बन्द गरिन्छ।

मान्यजनहरूको हातबाट टिका लगाई सकेपछि मिठा मिठा भोजनहरु गरेर पिङ्ग खेल्ने चलन नेपालमा रहेको छ। दशैँ लागे लगतै नेपालमा लिङ्गे पिङ्ग बनाएर गाउघरमा दशैँ लागेको सङ्केत पनि दिन्छ । यो चलन नेपालमा पिता पुर्खाकाल देखि अहिले सम्म चलि आएको छ । नेपालमा दसैँका दिन देवी भगवतीको पुजा आराधना गरी पुराण लगाएर पनि मनाइन्छ । देवी भगवतीले सबै दुख हरेर खुसियाली ल्याउने पौराणिक मान्यता भएकाले पनि पुराण लगाएर देवी भगवतीको पुजा आराधना गरिन्छ ।

वास्तबमा वैदिककाल साधना, सिद्धि, सामथ्र्य, शक्ति र सौर्यताको संगमको काल थियो ।  त्यहिबाट दशैंको शुरुवात भयो। बडादशैं सनातन परम्परा, संस्कार, संस्कृति, धर्म, आस्था र बिश्वाससँग जोडिएको बिषयमात्र नभएर अव यसको बैज्ञानिक महत्वको बिषय पनि  रहेको पुष्टि भएको छ । यो समाजबिज्ञान,मनोबिज्ञान र ब्यवहार बिज्ञानसँग निकट रहेको छ । यो पर्व आडम्बरी, खोक्रो, मूल्यहिन हुँदै होइन् । यो धार्मिक, सामाजिक, सांस्कृतिक र बैज्ञानिक महत्व र मूल्यको पर्व हो । तर पर्व मनाउँदा त्यसको वास्तविक मूल्य बुझेर, यथार्थ विधि पद्धति अनुसार निष्ठावान तरिकाले मनाउँनु पर्छ भन्ने कुरा पक्का हेक्का होस् । किनकी साधना नगरी फल त्यसै पाइन्न । साथै पर्व मनाउदा घाँटी हेरी हाड निल्यौँ भन्ने हाम्रो महत्त्वपूर्ण नेपाली उखानलाई अनुसरण गरौँ ।

कोजाग्रत पूर्णिमा दशैं सकिने पूर्णिमाको रातलाई कोजाग्रत पूर्णिमा भनिन्छ । आश्विन शुक्ल प्रतिपदा घटस्थापनाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दशैं पर्व कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । यो दिनमा सम्पन्नताकी देवी महालक्ष्मीले आजको रात पृथ्वीको भ्रमण गरी को जागेको छ ? भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजाआराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण यस रात गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजाआराधना गर्दछन् । यसरी पन्ध्र दिनसम्म मनाइदैं दशैंको समापन गरिन्छ ।

अन्त्यमा शरद् ऋतु, वन–उपवनमा ढकमक्क फूल फुलेका छन् । खेतमा लहलह धानका बालाहरू झुलेका छन् । बारीमा तरकारीहरू, फलफूलहरू लटरम्म फलेका छन् । वर्षा थामिएको छ । न जाडो छ, न गर्मी । कृषिप्रधान देशका नागरिकहरूलाई हलो, कुटो, कोदालो र हिलो माटोबाट फुर्सद् मिलेको छ । घरपालुवा पशुपन्छीको वंशवृद्धि भएको छ । यही उमङ्गमय वातावरणमा जीजिविषाका लागि टाढाटाढा देश–परदेशमा गएका आफन्तजनहरूसँगको मिलनले कसको मन उल्लासित हुँदैन र ! मीठो खाने, राम्रो लगाउने र मनोरञ्जन गर्ने फुर्सदिलो क्षण मात्र नभएर नातासम्बन्धलाई गाढा बनाउने तथा चिसिएको सम्बन्धलाई न्यानो बनाउने पारिवारिक तथा सांस्कृतिक राष्ट्रिय राजनीतिक अवसरको रुपमा पनि दशैँको महत्व छ । सरकारले पनि यस पर्वमा लामो छुट्टी दिएर र एक महिनाको तलब दशैँ खर्च दिएर दशैँको महत्वलाई अझै उजागर गरेको छ ।  हुने खानेहरूलाई सधैँको दशैँ छँदै छ । हुँदा खानेहरूलाई दशैँ दशा नबनोस् । कोरोनाको महामारी अजै पनि यथावत रहेकोले सावधानी अप्नाएर, स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी दशै मनाउ । दशैँ राष्ट्रिय एकताको कारण बनोस्, देशमा सर्वत्र शान्ति छाओस्, समाजमा सकारात्मक सोचको विकास गर्न दशै कोशेढुङ्गा बनोस विजया दशमीको हार्दिक मंगलमय शुभकामना छ ।(लेखकः नेपाल सरकारका उपसचिव एवं सैनामैना नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *