आज कात्तिक कृष्ण औंसीलाई गाई तिहारकाे दिन भनिन्छ । गाई तिहार, लक्ष्मीपूजा र नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं जन्मजयन्ती पनि आजै परेकाे छ । कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नु अघि गाईको गोबरले घर-आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर-कोठा पवित्र तुल्याउने हिन्दूहरुको संस्कार रहेकाे छ । गाईलाई पशुधनका रूपमा लिइन्छ । हिन्दूहरू गाईलाई लक्ष्मी र गौमाताका रूप मान्छन् । लक्ष्मीलाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतिक मानिन्छ । कार्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ । यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घर-घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ । यसभित्र कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतना शक्तिको प्रकाशले हटाउनु पर्ने सन्देश पनि पाइन्छ । गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छ ।यमराजले यमपञ्चकका पाँच दिन आफ्नी बहिनी यमुना कहाँ बसेका कारण यस दिन मृत्यु हुने कुनै मानिसले नरक देख्नु नपर्ने विश्वासमा खुसी मनाउँदै दीपावली गर्ने प्रचलन आरम्भ भएको होस् वा रामचन्द्रले लोककल्याणको भावनाले रावणादि विविध असुरहरूको नाश गरेपछि कार्तिक कृष्ण औंसीको दिन अयोध्याको राजाका रूपमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेको प्रसङ्ग नै किन नहोस्, यी सबै प्रसङ्गमा यो दिनको ठूलो महत्त्व रहेको छ । गाईको मल मूत्रद्धारा कृषिको लागि मल बन्दछ । खेतबारी जोत्न गोरुको प्रयोग हुन्छ। साथै गाईको दुध ध्यूबाट शरीर बलियो र स्वच्छ हुनुको साथै यसको बिक्रीद्धारा जीवीकोपार्जन हुन्छ । धनलाई हामी लक्ष्मीको रुपमा मान्छौं । यसैले पनि हामीले गाईलाई लक्ष्मी मान्ने गरेका छौं । यसरी गाई पुजा सकेपछि बेलुका लक्ष्मीको पूजा हुन्छ ।यसरी हिन्दू धर्मावलम्बीहरुले धनधान्यकी देवी लक्ष्मीको पूजाअर्चना गरी यो पर्व मनाईन्छ।तिहारको औंसीको रातलाई सुखरात्रि भनिन्छ । साथै शिवरात्रिलाई महारात्रि, कृष्ण जन्माष्टमीको रात्रिलाई मोहरात्रि र नवरात्रको सातौं दिनको रात्रिलाई कालरात्रि भनिन्छ । यी सवै रात्रीकाे छुट्टाछुट्टै महिमा रहेकाे धर्मशास्त्रमा उल्लेख गरिएकाे छ ।औंसीको दिन साँझमा लक्ष्मीको पूजा गर्ने, दीपावली गर्ने र बत्ती बाल्ने गरिन्छ । घरमा लक्ष्मीपूजा गर्नका लागि बाहिर देखि नै कुनै मण्डप बनाएर लक्ष्मी भित्र्याउने र भित्र विधिवत् रुपमा यसको पूजा गर्ने गरिन्छ ।हिन्दु धर्ममा कुनैपनि पूजा गर्दा पञ्चोपचार वा षोडशोपचारमध्ये एउटा विधिबाट गरिन्छ । पाँच किसिमको पूजा सामग्री प्रयोग गरेर गरिने पूजा र सोह्र किसिमको पूजा सामग्री प्रयोग गरेर पूजा गर्ने दुई विधि हिन्दु शास्त्रमा उल्लेख छ । ध्यान–आवाहन, आसन, पाद्य, अघ्र्य, आचमन, स्नान, वस्त्र, यज्ञोपवित, गन्धाक्षत, पुष्प, धुप, दीप, नैवेद्य, ताम्बुल, दक्षिणा, जल आरती, मन्त्र पुष्पाञ्जली र प्रदक्षिणा–नमस्कार, स्तुति गरी १६ किसिमको विधि पूरा गरेर गरिने पूजा षोडशोपचार विधि अन्तर्गत पर्छ। पञ्चोपचार विधिमा भने चन्दन, अक्षता, फूल, धूप र बत्तीको प्रयोग गरिन्छ ।लक्ष्मीपूजाको लागि पञ्चोपचार विधिबाट पूजा गर्न सकिन्छ । दियो; लक्ष्मी र गणेशका लागि दुईवटा कलश; लक्ष्मीको प्रतिमा,थालीर जनै, सुपारी, जौ, तिल चन्दन अक्षता, फूल, कुश लगायत आवश्यक मात्रामा कर्मपात्रो तयार गरेर पुजा गर्नु पर्दछ । पूजा गर्दा बीचमा दियो राख्ने, दियोको दाहिनेपट्टि कलश राख्ने, दियोको देब्रेपट्टि गणेश राख्ने, दियोको पश्चिमपट्टि धान वा चामलमाथि एउटा कलश राखेर त्यसमाथि थाली राखेर सात पटक ॐॐॐॐॐॐॐ भनेर शुरु गर्नु पर्दछ । त्यसपछि त्यही थालीमाथि प्रतिमा राखी लक्ष्मीको आवाहन गर्नुपर्छ । यसरी सबै सामग्री तयार पारिसकेपछि कर्मपात्रोमा कुशको टुक्रा राख्नुपर्छ । कुशको औंठी लगाइसकेपछि विधिवत् रुपमा पूजा शुरु हुन्छ । पूजा शुरु गरेर बत्ती बालिसकेपछि सबै तिरका तीर्थलाई कलशमा आवाहन गर्छौं । त्यसपछि आफ्नो कुल देवता, वास्तु देवता, नागनागिन, आकाश, पाताल दशै दिशाका देवदेवीहरुलाई आवाहन गर्दै पूजा गर्नु पर्दछ। धर्मशास्त्रमा उल्लेख भए अनुसार पहिला ॐ अपवित्र पवित्रो वा सर्वावस्थां गतोपी वा । यः स्मरेत पुण्डरीकाक्षं स बाह्याभ्यन्तरम् शुचिः ।। भनेर चन्दन अक्षता जलले शुद्ध गरी संकल्प गर्नु पर्दछ । संकल्प गर्दा दाहिने हातमा कुश, तिल, जाै र पानी लिएर ॐ विष्णु विष्णु र्विष्णुः श्रीमद्भगवतो महापुरुषस्य विष्णोराज्ञया प्रवर्तमानस्य अद्य श्री ब्रह्मणोऽह्नि द्वितीयेपरार्धे श्री श्वेतवाराहकल्पे वैवस्वतमन्वन्तरे अष्टाविंशतितमे कलि–युगे कलि प्रथम चरणे जम्बूद्वीपे भारतवर्षे भरतखण्डे नेपाल देशे पाशुपत क्षेत्रे आफ्नाे पालिकाकाे नाम लिदै यथानाम लनगरे देवीदेवता चरण कमलस्थाने षष्ठी संवत्सराणामध्ये राक्षस नाम संवत्सरे श्री सूर्य दक्षिणायने कात्तिक मासे कृष्ण पक्षे आमावश्या तिथौ तुला राशिस्थिते श्री सूर्य कुम्भ राशिस्थित देवगुरु यथास्थिते चन्द्रमा अन्येषु ग्रहेषु यथास्थान स्थितेषु म म आफ्नाे नाम लिएर अर्घ दिने श्री लक्ष्मी पूजा कर्मादिक प्राप्ति कामना सिध्यर्थम् अप्राप्त लक्ष्मी प्राप्तम् लक्ष्मी चिरकाल संरक्षणार्थम् कायिक वाचिक सांसर्गिक सकल दोष निकारणार्थम् आफ्नो कुन गोत्र हाे त्याे गाेत्रकाे नाम भनेर यथानाम गोत्रोत्पन्न अहं मम आफ्नाे नाम भन्ने अद्य दिने दीप कलश गणेश पूजनपूर्वक लक्ष्मीदेवी कृतये पूजन अहं करिष्ये । अब हातमा लिएको कुश, तिल, जाै र पानीलाई विनियाेग भनेर छाेड्ने । यस पछि क्रमश दियो, कलश र गणेश पूजा गर्ने । दियोको पूजा गर्दा ‘ॐ दीप नारायणेभ्यो नमः’ भन्ने मन्त्रोच्चारण गर्ने । त्यसैगरी कलशको पूजा गर्दा ‘ॐ वरुण कलशाय नमः’ र गणेशको पूजा गर्दा ‘ॐ गणेशाय नमः’ भनेर पूजा गर्ने । दियो, कलश र गणेशको पूजा सकेपछि कलशमाथि रहेको थालीमा राखिएको लक्ष्मीलाई ‘भो लक्ष्मी यागच्छः यातिष्ट, यावत्, पूजाम् करोमि तावतम् सुस्थिरा भव सुप्रशन्नाभवः सुवरदा भवः’ भनेर प्रतिमामा जौ,तिल,कुश, फूल राख्ने। कुशको आसन लक्ष्मीको प्रतिमामा चढाउनुपर्छ, जल चढाउने, अर्घ,कुशको टुक्रा, दुबो, जौ, तिल, सस्र्यु, सिंगो फल, कपुर मिसाएको जल र पञ्चामृत चढाएर लक्ष्मीपूजा गर्ने। यसरी पुजा सकेपछि आरती गर्ने। ॐ द्यौः शान्ति: रन्तरिक्ष शान्तिः,पृथ्वी शान्ति: रापः शान्ति:रोषधयः शान्तिः । वनस्पतयः शान्ति: र्विश्वे देवाः शान्ति : र्ब्रह्म शान्तिः,सर्वँ शान्तिः, शान्तिरेव शान्तिः, सा मा शान्ति: रेधि ।।ॐ शान्तिः ॐशान्तिः ॐशान्तिः ।। भनेर सवैतिर शान्ति गरि महालक्ष्मीकाे पूजा आराधना गरिन्छ। मनोकामना सहित कार्तिक कृष्ण औंसीका दिन माता लक्ष्मीको विशेष रूपमा पूजाआजा र अर्चना गर्नु तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोग गरी आफ्ना धन, सम्पत्ति, गरगहना, सामाग्री,दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अंकित गर्ने वा शुभलाभ लेख्ने गरिन्छ । यसरी सनातन देखि प्रचलनमा रहेकाे हाम्रो धार्मिक परम्परा हो ।आजका दिन उद्योगपति तथा व्यापारी एवम् घरका गृहिणीहरूले साँझ दीपावली गरिसके पछि आफ्नो धन कोठामा लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गर्ने गर्दछन् । आज कै दिन लक्ष्मीपूजासँगै लक्ष्मीको प्रतीक मानी कन्या कुमारीहरूको पूजा गर्ने चलन पनि छ । लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अन्य पदार्थ बाहिर पठाएमा लक्ष्मी बाहिर जान्छिन् भन्ने गरिन्छ ।हिन्दूहरुकाे महान पर्वकाे रुपमा रहेकाे तिहार अन्तरगत विधिपूर्वक लक्ष्मीपूजा गरेर खुसीयाली मनाइन्छ । यसाे गरेमा बर्ष भरि नै धनकी देवी लक्ष्मीले वास गर्छिन, धनसम्पत्ति प्राप्ति हुने, परिवारमा सुख हुने, राेगब्याधि हट्ने र बर्षभरिनै खुसी मिल्ने धार्मिक विश्वास छ । देशविदेशमा रहनु हुने सवैमा लक्ष्मीमाताले रक्षा गरून्, देशमा शान्ति मिलाेस, आर्थिक उन्नति र प्रगति हाेस हामी सवैकाे कल्याण हाेस हार्दिक मंगलमय शुभकामना छ ।

(लेखकः नेपाल सरकारका उपसचिव एवं सैनामैना नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *