सुलोचना देवकोटा

हाम्रो समाजमा देख्ने गरिन्छ जहिले बुहारीहरुलाई दोष लगाएको । फलानाको बुहारी त कस्ती सोमत नभएकी रे ? त्यसको बाबुआमाले केही नसिकाएका रैछन् ? जहिले सासू र बुहारीको खटपट मात्र भइराख्छ, जहिले सासू र ससुराले बुहारीको उछित्तो काडेको मात्र सुनिन्छ भनेर। यस्ता कुराहरु सुन्दा अनि देख्दा बडो अचम्म लागेर आउँछ अनि म नलेखी बस्नै सक्दिन ।

सासू र बुहारीको सम्बन्ध त आमा र छोरीको जस्तो होइन र?म प्रश्न गर्छु आफूलाई ।आखिर कोहि छोरी कसैको घरमा बुहारी बनेर आएकी हुन्छिन् । अनि बुहारी भएर गएको वाला घरको छोरी कसैको घरमा बुहारी बनेर पुगेकि हुन्छिन् । यो त एउटा रोटेसन जस्तो भएन र!र पनि मान्छेहरु किन यस्तो कुरामा रुमलिरहेका हुन्छन् । छोरीलाई किन जीवनभरि मुटुखानेजात हो भनिन्छ? “माइतीघरको त कुकुर पनि प्यारो पराई घरको हावा पनि गन्धे” भनेर किन मेरी हजुरआमा भन्नुहुन्छ। बिहे अघि कस्तो घर पर्ला ,लोग्ने कस्तो पर्ला भनेर डराएकि केटी मान्छे बिहे पछि नयाँ घर देखेर उत्तिकै डराउने गर्छिन्।बिरानो लोकमा प्रबेश गर्दै गर्दा पक्कै पनि उसलाई मानसिक रुपमा तन्दुरुस्त हुन समय लाग्छ होला भनेर किन बुझ्न सक्दैनौँ हामी?

हुन त मान्छेको जात न हो उसलाई अरुको पीडा तमासाजस्तो लाग्ने गर्दछ।आफूलाई नपर्दासम्म अर्काको पीडाले कहाँ पोल्छ र मान्छेलाई ?अचानाको पीर खुकुरीलाई के थाह! म पनि छोरी मान्छे हुँ।म पनि भोलि कसैको घरमा बुहारी बनेर जानुपर्छ।यो त एउटा संसारको रीत त हो नि?मैले आफ्नो क्षमताले भ्याएसम्म गर्ने नगर्ने कुराहरु आफ्नो ठाउँमा छन्।मलाई मेरी आमाको जस्तो घर सम्हाल्न आउँदैन।मलाई मेरी आमालाई जस्तो नाङ्लामा निफन्न ,केलाउन आउँदैन न त मलाई सिन्का घुसारेर दुना टपरी गास्न आउँछ भन्नु।त्यति मात्र होर मलाई कपास प्रयोग गरेर ज्योती कात्न पनि आउँदैन। मेरी आमालाई जस्तो घर लिपपोत गर्न पनि आउँदैन। म मेरी आमाको जस्तो सत्य कुरालाई लुकाएर मन भरि पीडालाई दबाएर अरुको अगाडि ठिक्क चाहिने जत्ति हाँसेर बोल्न पनि जान्दिन।मेरी आमाले जस्तो रीत पुराएर ढोग्न पनि जान्दिन म।

मेरी आमाजस्तो विवाह ब्रतबन्धमा निस्किदा सारी लगाएर चट्ट परेर निस्किन जान्दिन म।म मेरी आमाकोजस्तो आफन्तहरुले दिने टस सहन पनि सक्दिन। ठ्याक्कै भन्नुपर्दा म मेरी आमाजस्तो पक्कै छैन। सानैबाट कतिपय घरमा लोग्नेको घरपरिवारका लागि तयार गर्न सिकाइन्छ। मानौँ बिहे अगाडि केटिको जीवन को कुनै अर्थ छैन।तर मेरो केसमा यस्तो भएन।मेरी आमा यस्ता कुराहरु जान्नैपर्छ भनेर कर पनि लगाउनुभएन।हाम्रो पालामा जस्तो कहाँ छ र,तिमीहरु पढाईँलेखाईमा अब्बल छौ आफ्नो काम गरेर खान सकिहाल्छौ नि भन्नुहुन्छ।हामी पो जीन्दगीका पाना पढेँर ज्ञानी भएका हौँ नकि किताबका पाना पढेर।हामीलाई पो यस्ता कुरा नजानि भएन।तिमीहरु समयसँगै सबै कुरा जानिहाल्छौ नि।आमाका यस्ता कुराले मेरो मनलाई ढाडस त दिइरहेका हुन्छन्।घरमा त मनलाई चित्त बुझाएर राख्छु। बाहिरको कुरा गर्नुपर्दा एउटा किस्सस जोड्न चाहेँ।

पल्लो घरको काकीको छोरीको अस्तिभर्खर मात्र जनैसुपारी भयो।सबैजना खुशि हुनुहुन्छ। सबैजना बिहेको तयारिमा जुट्नुभएको छ। प्रायजस्तो काकी मसँग सबै कुरा साट्नुहुन्छ। यसैबखतमा भन्नुभयो छोरी तिमीलाई थाहै छ मेरी छोरीलाई घरको काम गर्न आउँदैन भोलि गएर कस्तो गरेर घर खान्छ भनेर हामीलाई पीर परिरहेको छ।हाम्रो नाम उसको नामसँग जोडिएको हुन्छ । भोलि पराईघरमा मेरो छोरीले काम गर्न नजान्दा सम्धिनीले मैले जस्तै गरेर सिकाउनुहुन्छ कि नाईँ?हामीलाई अबगल त आउने हैन?मलाई यस्तै कुराले सुत्न दिदैँन आजकल भनेर काकी पिलपिल गरेर आँखाबाट अश्रुधारा बगाउन थाल्नुभयो।काकीले यस्तो भनिँरहदा मलाई झट्ट दिमागमा मेरी आमाको सम्झना आयो मेरी आमाले पनि कतै यस्तै त सोच्नुहुन्न ?मलाई पनि काकीसँगै रुन मन थियो।तर काकीको अगाडि हाँसेर भने परेपछि गिन्छ के काकी।आखिर जिन्दगी केही हैन भनेर मिल्काउन मिल्दैन,जसरी पनि बाच्नैपर्छ। काकीलाई सम्झाउन त सजिलै भएको थियो । तर मेरो मनलाई कसरी सम्झाउने ?

भोलि म पनि त त्यहिँ ठाउँमा उभिने वाला थिए। मलाई पनि मेरी सासुआमाले मेरी आमाले जस्तै गरेर काम गर्न सिकाउनुहोला र?मेरी आमाको जस्तै विश्वासिलो मैले मेरी सासूआमामा भेट्न सक्छु कि नाई होला?मैले मेरी आमालाई जस्तै गर्ने ब्यवहारहरु मेरी सासुआमासँग गर्न पाउँछु कि पाउँदिन होला?मेरी आमाले जसरी नौ महिनासम्म मेरा बाबाको रगत बोकेर मलाई मुटुबाट निकालेर आफ्ना छातीलाई निचोरेर दशधारा दूध पिलाएर पालनपोषण गर्नुभएको थियो।हो त्यस्तै गरेर हजुरले पनि आफ्नो छोरालाई गर्नुभएको थियो भन्ने कुरा बुझेकी छु।

मलाई हजुर ममताकी खानी हुनुहुन्छ होला हजुरसँग पनि मेरी आमाको जस्तै विशाल हृदय छ होला भन्ने लाग्छ। मेरी आमालेजस्तै हजुरले पनि आफ्ना सन्तानका आखाँमा सपना देख्नुहुन्छ होला।म छुईँ भएर पीडामा छट्पटिएर बिस्ताराम पल्टिई रहदाँ मैले नभनिकन मेरो नजिकमा आएर ममतामयी स्पर्श गरेर सारा पीडा भुलाईदिन हजुरले सक्नुहुन्छ होला त?यत्ति मात्र हो मेरी आमाले जत्तिकै हजुरले मेरा आँखाहरुलाई बुझिदिनुभयो भने मलाई केही पनि चाहिदैँन ।अन्त्यमा एउटा अपिल डियर सासूआमा तपाईं पनि मेरी आमाजस्तै बन्नसक्नु हुन्छ र??

सुलोचना देवकोटा

आधिखोला गा.प., स्याङ्गजा

Leave a Reply

Your email address will not be published. Required fields are marked *