काठमाडौँ, २८ वैशाख ।
आज हुने खुकुरी नेपाल सुपर (एनएसएल) को प्लेअफको पहिलो खेलमा शीर्ष दुई स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी सिटी एफसी आपसमा भिड्दैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे हुने बताइएको छ ।
यस खेलमा जित हात पार्ने टोलीले फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टिमले पनि अर्को अवसर भने पाउनेछ । काठमाडौंले लिग चरणमा धनगढीसँग ३-० को हार बेहोरेको थियो । काठमाडौं सोही हारको बदला लिने लक्ष्यसहित मैदान उत्रदै फाइनल पुग्ने दाउमा हुनेछ ।
काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले प्ले अफको खेलको लागि उत्साहित रहेको र टोली उच्च मनोबलका साथ मैदान उत्रने बताउनुभएको छ । उहाँले टोलीको प्रदर्शनमा दिनानुदिन सुधार हुँदै आएको र धनगढीविरुद्ध राम्रो नतिजाको अपेक्षा गरिएको बताउनुभएको छ ।यस्तै धनगढीका प्रशिक्षक तोपे फुजाले काठमाडौं विरुद्धको खेल निकै प्रतिस्पर्धात्मक हुने र टिमले गोल निकाल्नेमा ध्यान दिने बताउनुभएको छ । उहाँले काठमाडौंको आक्रमण राम्रो भएपनि त्यसलाई रोक्न रणनीति बुनिरहेको र फाइनल खेल्ने लक्ष्य राखेर नै मैदान उत्रने बताउनुभयो ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् । प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *