मेलिशा भट्टराई

पुषको कठ्याङ्ग्रिदो जाडोमा रातको साढे १० बजे कोठाको ढोका ढकढक्याउँछिन दुर्गा । करिब पाँच मिनेट पछि बल्लतल्ल छोरीले ढोका खोल्छिन् । आमाको मन न हो, ढोकामा निन्द्रामै रहेकी छोरीलाई देखेर “जाऊ जाऊ सुत नानी”, भन्दै उनी आफ्नो थकित शरिरलाई भान्सातिर धकेल्छिन् । छोरी पनि सरासरी तातो ओछ्रयानमा जान्छिन् । दुर्गा भने भान्सामा तीन/चार घण्टा अगाडी छोरीले पकाएर राखेको खाना तताउँछिन् र खान्छिन् । त्यसपछि जुठा भाँडाबटुका सबै धोइसकेर, भान्साको सरसफाइ गरेर सुत्ने तरखरमा लाग्छिन् । यतिकैमा निन्द्रामा घुरिरहेका दुर्गाका श्रीमान् ब्युझँन्छन् र भन्छन् “जहिल्यै यति राती ढिलो घर आउन तेरो काम चाहीँ के हुन्छ, हँ ? राती ढिलो घर आएर सबैलाई डिस्टर्ब गर्छे, कसैको नभा’को जागिर तेरो !” यति भनिसकेर उनी कोल्टे फिर्छन् र फेरी घुर्न सुरु गर्छन् ।

यता दुर्गा भने दिनभरको कामको थकान र घर आएपछि पनि परिवारबाट मायालु व्यवहार र सहयोगको सट्टा आफू घर ढिलो आएको निहुँमा परिवारले देखाएको रिस सहनुपर्दा अत्यन्त दुःखी भई आँसु खसाल्छिन् । उनी बिस्तारै खाटतिर जान्छिन् र खाली छेउमा कोल्टो फिरेर पल्टिन्छिन् । पल्टिने बित्तिकै के निन्द्रा लाग्थ्यो र?, मनमा अनेक कुराहरु खेलाउँदै उनी सोच्छिन् “काममा मरिमेटी खटिँदा पनि साहुले पैसा नै बढाउँदैनन्, दिनभरी त्यत्रो काम गरिन्छ, तर एक कप चिया पनि पाँच बजे खान दिन्छन् । घरमा पनि आफुले समय दिनसकेकी होइन , घरको काममा धन्न छोरीले सहयोग गर्छिन् । छोराले कक्षा नौ पढ्दापढ्रदै पढाइ नै छोड्यो , अहिले दिनभर डुल्छ । राम्रो पढेर राम्रो जागिर खाएर आफुलाई सहयोग गर्ला भनेको त, उल्टो उसैलाई डुलेर खान खर्च दिनुपरेको छ । श्रीमान् पनि गाडी चलाउने काम छोडेर घरै बसेको पाँच महिना भइसक्यो । म एक्लैको कमाईले कसरी घर खर्च चलाउने, कोठाभाडा कसरी तिर्ने, कसरी छोरीलाई पढाउने, कसरी ज्यान पाल्ने? बिहान दश बजे देखि साँझ ६ बजेसम्मको काम हो, तर के गर्नु ….रातको १० बजेसम्म ओभरटाइम काम गरेपनि धेरै पैसा नै आउँदैन । यस्तो जाडोमा एक गिलास तातो पानी पनि पिउन नपाउने ठाउँमा काम गर्नुपरेको छ । हे भगवान्, खै के पो गर्ने होला?” यदि मलाइ दुःख हुन्छ; म रुन्छु, पीडा महसुस गर्छु, बिक्षिप्त र निराश हुन्छु भने यी सबै सङ्कटप्रतिका भावनात्मक प्रतिक्रयाहरु हुन् । यि यस्ता अनेक तरहका बिचार गर्दागर्दै उनी निदाउँछिन् ।

बिहान चार बजे जिम्मेवारीको घण्टी बज्छ । मीठो निन्द्रा र न्यानो ओछ्यान छोडेर उठ्न मन लाग्दैन, दिक्क लाग्छ, तर पनि आफ्नो कर्तव्य सम्झेर उठ्छिन् । परिवारका अन्य तीनैजना सुति नै रहेपनि उनी भने नित्य कर्म र पुजापाठ सकेर हतारहतार बजार जान्छिन्, महङ्गिदो बजारभाउ सुनेर अत्तालिएको मनलाइ सम्हाल्दै अलिअलि किनमेल गरेर उनी घर फर्किन्छिन् । काममा जान ढिलो भएर साहुको गाली खाइएला की भन्ने पीरले छिटोछिटो खाना पकाउँछिन् । खाना पाक्दै गर्दा एकएक गर्दै सबैजना भान्सामा भेला हुन्छन् । केहीबेरमै छोरी आफ्नो गुनासो पोख्छिन्ः “ममी तपाईँ त सधैँ मलाई डिस्टर्ब गर्नुहुन्छ, अलिक छिटो घर आउने गर्नुस् न ! घरको काम कति हुन्छ सबै गरिसक्दा राम्ररी पढ्न नै पाउँदिन ।” त्यसपछि छोरा पनि आफ्नो मुख खोलिहाल्छन् ,“ममी एउटा नयाँ ज्याकेट किन्नुपर्ने, साथीहरुसँग बाहिर जाँदा त्यो पुरानो ज्याकेट लाउनै लाज भइसक्यो । तपाईँको स्यालरी आएन र भन्या ?” छोराको कुरा टुङ्गिन नपाउँदै श्रीमान् बोलिहाल्छन् “तँ रातीराती ढिलो घर आउँछेस्, आईमाई मान्छे अलि छिटो आउनुपर्दैन? है’न तैँले महिनाको एक लाख नै कमाउँछेस् कि क्या हो?” …….. केहीबेर चुप लागि उनी फेरी भन्छन् “दिउँसो यसो खाजा-साजा खानुपर्छ, अलिअलि पैसा छोडेर जा है , काम पनि खोज्न जानु छ ।”

दुर्गा केही नबोली मनमनै सोच्दछिन् “अचानोको पीर खुकुरीले जान्दैन भने झैँ मेरो अवस्था, काम, समस्या बारे त कसैले केहीपनि नसोच्ने रहेछन् ।आफु बाहेक यो संसारमा कोही आफ्नो हुदैनन् ।” त्यसपछि दुई शब्द “ल ल” मात्रै भन्दै खाना पस्किन्छिन् अनि हतारहतार खाना खाएर आफ्नो काममा जान्छिन् ।

दुर्गा एक प्राइभेट डेरी उद्योगमा काम गर्दछिन् । उनी त्यस उद्योगकी सबैभन्दा पुरानो कर्मचारी हुन् , उनी त्यहाँको सबै काम जान्दछिन् र गर्दछिन् पनि । दुध प्रशोधन गर्ने, घ्यु, पनिर, नौनी, दही बनाउने, प्याकिङ गर्ने, उत्पादनका मेसिनहरु, पाइपहरु सफा गर्ने, ठूलाठूला भाँडाकुँडा, क्यान, बाल्टिन, ड्रम लगायत दुध दहीका ट्रे माझ्ने, पखाल्ने , सामान ओसारपसार गर्ने जस्ता सबै काम पालैपालो गर्दछिन् । दिनभर उनी परिश्रम गर्छिन , खाजा खान समेत उनलाई फुर्सद हुँदैन । अलिकति काम बिग्रँदा पनि साहुको गाली खानुपर्छ । यस्तो कामको भार र तनाबले उनलाई कैयौँपटक जागिर छोडुँ जस्तो नभएको पनि होइन तर जबजब उनको मनमा जागिर छोड्ने बिचार आउँछ , तबतब दिमागले घरपरिवारप्रतिको आफ्नो जिम्मेवारी सम्झाइदिन्छ , त्यसपश्चात् जागिर छोड्ने कुरालाई मनबाट बाहिर निकालिदिन्छिन् र काम गर्न थाल्छिन् ।
हरेक रात कामबाट फर्केर घर पुग्दा उनले आजको दिन पनि यसै कट्यो तर भोलीको दिन आजको भन्दा सहज, सुखी र खुशीपूर्ण होस् भन्दै प्रार्थना गर्दछिन् तर दिनको सुरुवातबाटै उनी आफ्नो दुःखको चक्रमा पर्दछिन् । उनको बिगत १७ वर्ष देखिको दिनचर्या यसरी नै बितिरहेको छ र उनी कहिले सुखका दिन आउँछन् भनी औँला गन्दै भावनामा बहकिदै रहेकी छिन् ।

समष्टि ‘ मा प्रकाशित लेख

Leave a Reply

Your email address will not be published. Required fields are marked *