काठमाडौँ, २५ जेष्ठ । भारतको उत्तर प्रदेश आगरास्थित पारस अस्पतालमा नियत बस अक्सिजनको आपूर्ति बन्द गरिँदा २२ जना उपचारारत कोरोना संक्रमितको ज्यान गएको छ। सो अस्पतालमा नियत बस पाँच मिनेटसम्म अक्सिजनको आपूर्ति बन्द गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका हुन् ।
उपचाररत संक्रमितहरुलाई अक्सिजन रोक्दा कतिबेर बाँच्न सक्छन् भन्ने हेर्नका लागि आपूर्ति बन्द गरिएको भन्ने अस्पताल सञ्चालकको भिडियो अहिले भाइरल भएको छ। भिडियोमा अस्पतालका सञ्चालकले भनेका छन्, ‘अस्तपालबाट बिरामीलाई डिस्चार्ज गर्नका लागि पाँच मिनेटसम्म अक्सिजनको आपूर्ति रोकिएको थियो।’ यसलाई भिडियोमा ‘मक ड्रिल’ भनिएको छ।
आगराको पारस अस्पतालमा गत अप्रिल २६ र २७ मा अक्सिजनको अभावका कारण २२ जनाको ज्यान गएको थियो। भिडियो भाइरल हुनु पूर्व त्यहि बेला नै बिरामीका आफन्तले अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै विरोध गरेका थिए। तर अस्पताल र प्रहरीले सो आरोप खारेज गरेको थियो। अहिले भिडियो सार्वजनिक भएसँगै अक्सिजनको आपूर्ति रोकिएकै कारण बिरामीको ज्यान गएको भन्दै निष्पक्ष छानबिनको माग राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *