हरितालिका तीज हिन्दू नारीहरूको एउटा महत्वपूर्ण चाड हो । तीज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ । भाद्र द्वीतियाका दिन दर खाने र अर्को दिन तीजको व्रत बस्ने प्रचलन छ । भाद्र चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् । अपमार्ग ९दतिवन० लेपनले छालामा हुने एलर्जी हटाउँछ । पञ्चमीका दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी खाने प्रचलन रहेको छ । तीज पर्व भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ ।

हिन्दू धार्मिक ग्रन्थअनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने बचन दिएका र पार्वतीले मनैदेखि भगवान् शिवलाई वरण गरेकी उनका पिता हिमालयले छोरीको विवाह विष्णुजीसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर शिवजीलाई पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले विभिन्न किसिमको कठोर तपस्या गरेको लामो अवधि भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा भाद्रपद शुक्लको तृतीया तिथि, अनि त्यस दिन हस्ता नक्षत्रका दिन उनले वालुवाको शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार ब्रत बस्न थालिन् । बालुवाको शिवलिङ्ग निर्माण रातभरि शिवजीका स्तुतिमा गीत गाउँदै जागरण बसिन् । यो कठोर तपस्याको प्रभावले शिवजीको आसन हल्लिन पुग्यो र यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई तथास्तु अर्थात्’ मनले चिताएको कुरा पुरा होस्’ भनी आशीर्वाद दिएपछि शिव–पार्वतीको विवाह हुन पुग्यो । संकटको घडीमा धैर्यताका साथ काम गर्नुपर्दछ । हिन्दूनारीको जीवनको सार्थकता नै केमा छ भने जसलाई मनैले पतिका रूपमा एक पटक वरण गरिन्छ, उसैसँग निष्ठापूर्वक जीवन निर्वाह गर्नुपर्दछ ।

दीगो आस्था र एक निष्ठाका सामु त स्वयं भगवान् पनि असहाय र किंकर्तविमुढ बन्न पुग्नुहुन्छ भन्ने यसबाट स्पष्ट बुझिन्छ । यसरी यस्तो सफल कार्य भएको त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्। यो पर्व मुख्यरूपले नेपालभर मनाइन्छ । भगवान् शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो ब्रत राखेकी थिइन् त्यो दिन पनि यही हरितालिका तीजको दिन थियो । त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउदै आएका छन् ।

यो चाडमा माइतीले छोरी,चेलीलाई घरमा गई लिएर आउने वा बोलाएर मीठामीठा परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने र बस्ने चलन छ । यस दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ । यही दर खाने दिनबाट नै तीज पर्वको आरम्भ भएको मानिन्छ । आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ । सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ । भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राति ढिलासम्म बसेर पेटभरी खाने प्रचलन छ ।

तीज र ऋषिपञ्चमी दुवैलाई तीज पर्वकै रूपमा मानिन्छ । खास गरी यसमा स्त्रीहरूले पतिको निम्ति निराहार रहेर भगवान् शिव तथा आद्य शक्ति पार्वतीसँग प्रार्थना गर्दछन् । यो दिन महिलाहरू बिहान उठी नुहाई धुवाई गरेर दिनभरि जल, अन्न ग्रहण नगरी ब्रत बस्ने गर्दछन् । बेलुकीपख पूजाका सामान तथा मण्डप तयार गरी भगवान् शिवको आराधना गर्ने प्रचलन रहेको छ । निर्जला ब्रत भनिए पनि आजभोलि महिलाहरू मध्यान्ह मै पूजा, आराधनापश्चात् फलफूल ग्रहण गरेको पाइएको छ । यस दिन नाचगान तथा रमाइलो गर्ने गर्दछन् ।

भाद्र शुक्ल तृतीयामा पार्वतीले शिवको आराधना गरी जुन ब्रत बसी त्यसैको परिणामस्वरूप शिव–पार्वतीको विवाह सम्भव भएको हो । यो ब्रतको महत्व यसकारणले पनि महत्वपूर्ण छ । जसले यो ब्रत निष्ठापूर्वक पालन गर्दछ, त्यसलाई मनोवाञ्छित फल प्राप्त हुनेछ । यो ब्रतलाई हरितालिका भन्नुको अर्थ पनि पार्वतीलाई साथीहरूले पिता र आफ्नो प्रदेशबाट हरण गरी जंगलमा लगेको प्रसङ्गसँग जोडिन्छ । हरितालिका शब्दमा रहेका हरिता र आलिका यी दुई शब्दको अर्थ पनि क्रमशः हरण गरिएकी र साथीहरू भन्ने हुन्छ । संक्षेपमा भन्दा पूर्वीय वैदिक सनातन धर्म परम्पराका विभिन्न पौराणिक एवं आध्यात्मिक ग्रन्थहरूमा खासगरी स्कन्द पुराण र भविष्योत्तर पुराणमा वर्णन भए बमोजिम राजा हिमालयले आफ्नी पुत्री गौरीको विवाह भगवान् विष्णुसँग गरिदिने निधो गरेपश्चात् साथीहरूले हरेर (सखीहरूको सहयोगमा) विकट स्थानमा पुराएर त्यही गौरी (पार्वती) ले कठोर तपस्या गरिन् र उनको तपस्याबाट महादेव प्रशन्न भएर भाद्र महिनाको शुक्ल पक्षको तृतीया तिथि हस्ता नक्षत्रका दिन स्वयं प्रकट भई गौरीको तपस्या स्वीकार्दै आशीर्वाद दिएर तपस्या सफल तुल्याई दिएकाले हरेक वर्ष भाद्र महिनाको शुक्ल पक्षको तृतीयाका दिन तीज पर्व मनाउँदै आएको पाइन्छ ।

सखीहरू (आलीका) बाट हरेर तपस्या गराई सफल भएकोले तीज पर्वलाई हरितालिका तीज पनि भनिन्छ । भगवान् शिवले पार्वतीजीलाई भन्नुभयो,‘यस ब्रतलाई विधि विधानपूर्वक जसले लिन्छ, त्यसले तिम्रोजस्तै सुयोग्य र अचल पति प्राप्त गर्दछ भनेर बताउनु भएको किम्वदन्ती छ । यसरी तीजको समयमा महिलाहरूले तीजको ब्रतगर्ने, कथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण ब्राह्मणीहरूलाई दानदक्षिणा गर्ने, नाचगान गरि रमाइलो गर्ने चलन रहेको छ ।

तीजमा महिलाहरूले निर्जल, निराहार उपवास बस्नुपर्ने धार्मिक मान्यता छ । एक प्रकारले हेर्दा यसले महिलालाई पुरुषको अन्धभक्त बनाउन खोजेजस्तै देखिन्छ । पुरुषभक्त हुन गरिने व्रत तीजमा महिलाले गरेको धार्मिक विधिले श्रीमान्को दीर्घायू, सुस्वास्थ्य, प्रगति हुने मान्यता छ । माइतीबाट बाबु वा दाजुभाइ गएर छोरीचेलीलाई भेट्ने र सकेसम्म माइती लिएर फर्कने प्रचलन छ जसले माइती चेलीको आपसी सम्बन्धलाई मजबुत बनाउँछ । विवाह भएर टाढा पुगेका दिदीबहिनीबीच भेट गराएर यो पर्वले उनीहरूको मन हलुका पार्न र सुख–दुःखका कुराकानी गर्ने अवसर समेत जुटाइदिन्छ । जसले गर्दा नारीको क्षमता विकासमा उर्जा थप्ने महत्वपूर्ण समय पनि मानिएको छ ।

मानिस जति आधुनिक, सभ्य भए पनि उसले जन्मसँगै पाएको संस्कार एवं संस्कृति छोड्न सक्दैन । नेपालमा रहेका हिन्दू समुदायले मनाउने तीज पर्वलाई अहिले अन्य जातिले पनि मनाउन थालेको पाइन्छ । तीजलाई महिलाको रमाइलो पर्वका रूपमा समेत लिइने भएकाले युवतीहरू पनि यसमा रमाउँछन् । परिवार, साथीभाइ जमघट, घुमघाम, नाचगान यो पर्वको अर्को विशेषता बन्दैछ । तीजमा गीत–संगीतको विशेष महत्व रहन्छ । महिलाहरू विद्युतीय उपकरण र साधन नहुँदा समूहमा भेला भई गीत गाउँथे भने अहिले रेडियो र टेलिभिजनमा आधुनिक शैलीका गीत र नृत्य गुञ्जिन थालेका छन् ।

तीजका गीतमा छोराछोरीबीचको विभेद, पीडा, सासूबुहारीको कचकच, दुःख, इष्र्या आदि विषय समावेश हुन्थे तर अहिले तीज गीतका विषय पनि परिवर्तन भएका छन् । सांस्कृतिक मान्यतास्वरूप महिलाहरू गीत गाउँदै नजिकैको मन्दिर वा समूहमा भेला भएर विभिन्न भाकामा तीजका लय गुञ्जाउँछन् । घरधन्दाको व्यस्ततामै अल्झिएका अधिकांश महिला तीजमा मन खोलेर नाचगान गर्दछन् । टोलटोलमा समूह बनाएर एक महिना अघिदेखि नाचगान र खानपिनका कार्यक्रम संचालन गरिन्छन् । कतिपय संघसंस्थाले तीज प्रतियोगिता पनि आयोजना गर्छन् । यसले तीजको खास अर्थ र महत्वलाई मारेको मात्र छैन, संस्कार र संस्कृतियुक्त तीजलाई भड्किलो र उत्ताउलो बनाउँदै लगेको देख्न सकिन्छ । यद्यपि तीजको संस्कृति सबै जात वा समुदायका महिलामा पनि प्रवेश गर्नु सकारात्मक पक्ष हो ।

रातो पहिरन, छड्के तिलहरी, यार्लिङ्ग, वुलाकी, असर्फीलगायतका विभिन्न गहनाहरु अनि उत्साहपूर्ण माहोलमा निरन्तरको नाचगान । न भोकको संवेदना छ न तिर्खाको सम्झना, आजको दिन रातो रङ्गको दिन, पवित्रताको दिन, सङ्गीतको दिन अनि नृत्यको दिन । आँगनबाट चुराको खनखन, पाउजुको छमछम आउँदछ । समस्त नारी जाति यस धर्ती र सृष्टिका लागि अनुपम वरदान हुन् । नारी सृष्टिका कारक हुन् र शक्तिका केन्द्र पनि हुन्, आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्बि नारीहरुले आफ्नो शौभाग्य र परिवारको सुस्वास्थ्य अनि दिर्घायूका लागि व्रत बस्ने दिन, अविवाहित नारीहरुले आफूले भनेजस्तै वर पाइयोस् भनेर भगवानसँग आह्वान गर्ने दिन, आजको दिन मनोकामना पूरा हुने विश्वासको दिन अनि आजको दिन हर्षको दिन हो । साथै आजको दिन चेली अनि माइतीको विशेष सम्बन्ध छ ।

Ratna Sagar Shrestha/THT

तीजको रौनक माइतको आँगनजस्तो अरु कुनै ठाँउमा हुनै सक्दैन । महिलाहरुलाई माइतीको विशेष स्नेह हुन्छ, माइतीको आँगनमा तीजको उत्साह अनि चहलपहल र सँगैका सङ्गीहरुकासाथ माइती गाउँका आफन्त प्रियजनहरूसँगको भेटघाट लगायतका रमाइला गतिविधिहरू तीजको सदियौंदेखि चलिआएको जिवन्त संस्कृति हो । यस वर्षमा पनि अघिल्लो वर्षमा जस्तै कोरोना भाइरसको महामारीबाट समाजमा संक्रमण नफैलियोस् भनेर देशका विभिन्न जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेका छन् । अहिले सवै सुरक्षित रहेर आफ्नै घरमा तीज मनाउनु पर्ने अवस्था सिर्जना भएको छ । यस अवस्थाको सवैले पालना गर्नु ब्यक्ति, समाज, देशलाई संकमणबाट जोगाउनु हो । जीवन रहे सबै कार्य गर्न सकिन्छ, खानपिन र नाचगानलाई घरपरिवारमा सीमित गरी तीज पर्व मनाऔँ । कोरोना भाईरसको महामारीकाबाट हामी सवै सुरक्षित हुन सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्डको पालना गर्दै अनिवार्य रूपमा मास्कको प्रयोग गरेर मात्र यो पर्व मनाउ भन्ने आग्रह गर्दै हिन्दू नारीहरूको महान पर्व तीजको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आदरणीय दिदीबहिनीहरू लगायत सवैमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य एवं आपसी प्रेम, करुणा र मैत्रीभावनाका लागि शक्ति मिलोस हार्दिक मंगलमय शुभकामना छ ।

 (लेखकः नेपाल सरकारका उपसचिव एवं सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *